काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा सांसद डीपी अर्याल निर्विरोध भएका छन्। यद्यपि, उनको निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ।
सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र अर्यालको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार, सभामुख पदमा एक मात्र उम्मेदवारी परेमा समर्थक सदस्यले प्रस्ताव प्रस्तुत गरेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले उक्त सदस्यलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ। सो घोषणा अब बस्ने प्रतिनिधिसभाको बैठकमा गरिनेछ, जुन बैठक आगामी आइतबार बस्नेछ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ। सत्तापक्षको स्पष्ट बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएका छैनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन्।सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। नियम अनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगका हुनुपर्ने प्रावधान छ। तर एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलबाट पनि चयन हुन सक्ने व्यवस्था रहेको उनले बताए।हालसम्म उपसभामुख पदबारे औपचारिक छलफल भएको छैन। प्रतिनिधिसभामा रास्वपासहित ६ दलको उपस्थिति रहेको छ।
निर्वाचित भएपछि कार्यभार सम्हाल्नुअघि सभामुखले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ। त्यसैगरी, उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन्।सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्का सदस्य हुने भएकाले उपसभामुखमा कुन दलको प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई विशेष चासोका साथ हेरिएको छ। नेपालको संविधानको धारा २८४ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् गठन हुने व्यवस्था छ, जसले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्दछ।
संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्ति हुने व्यवस्था भएकाले उपसभामुख पद कसले पाउँछ भन्ने विषय आम चासोको विषय बनेको छ।