एक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ?

एक महिनापछि बन्ने सशस्त्रको नयाँ आईजीपी को ?

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा आगामी एक महिनाभित्र नयाँ महानिरीक्षक (आईजीपी) नियुक्त हुने भएको छ। वर्तमान आईजीपी राजु अर्याल १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन्। उनले २०७९ वैशाखमा आईजीपीको जिम्मेवारी सम्हालेका थिए र चार वर्षे कार्यकाल पूरा गर्दै अवकाशमा जान लागेका हुन्।

२०५४ सालमा नेपाल प्रहरीमा निरीक्षकका रूपमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी गठन भएपछि त्यहाँ सरुवा भएका थिए। सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि रहने भए पनि चार वर्षे आईजीपी कार्यकालका कारण उनी २८ वर्षे सेवामै अवकाशमा जान लागेका छन् |अर्यालको अवकाशसँगै अब नयाँ आईजीपी को बन्ने भन्ने विषयमा चासो बढेको छ। सशस्त्र प्रहरीमा परम्परागत रूपमा वरियताको पहिलो नम्बरमा रहेका अधिकृत नै आईजीपी बन्ने प्रचलन रहँदै आएको छ।

यस आधारमा हालका एआईजी नारायणदत्त पौडेल प्रमुख दाबेदारका रूपमा अगाडि देखिन्छन्। उनी हाल मानव स्रोत विकास विभागका प्रमुख छन् र एआईजीहरूमध्ये सबैभन्दा सिनियर अधिकारी हुन्।सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी रहेको छ। पौडेल बाहेक वंशी दाहाल र गणेश ठाडा मगर पनि एआईजी छन्। दाहाल हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् भने ठाडा मगर कार्य विभागमा छन्।

नियमावलीअनुसार एआईजी नभएको अवस्थामा डीआईजीबाट समेत आईजीपी नियुक्त गर्न सकिने प्रावधान छ। त्यसैले वरियतामा पछि परे पनि दाहाल र ठाडा मगर प्रतिस्पर्धाबाट बाहिर छैनन्।पौडेल ६ जेठ २०७९ मा एआईजीमा बढुवा भएका थिए भने दाहाल २८ असोज २०७९ मा एआईजी बनेका हुन्। दाहाललाई बढुवा गर्न सीमा सुरक्षा विभागमा अतिरिक्त एआईजी दरबन्दीसमेत सिर्जना गरिएको थियो।

ठाडा मगर भने २ असार २०८२ मा मात्रै एआईजीमा बढुवा भएका हुन्। उनी अन्य दुई प्रतिस्पर्धीभन्दा करिब दुई वर्ष जुनियर भएकाले तत्काल आईजीपी बन्ने सम्भावना कम देखिन्छ। तर भविष्यमा भने उनको सम्भावना कायम रहनेछ।पौडेल वा दाहालमध्ये जो आईजीपी बने पनि उनीहरू ३० वर्षे सेवा अवधिका कारण १८ चैत २०८४ मा अनिवार्य अवकाशमा जानेछन्।

यसबीच, नयाँ सरकार गठनपछि नेतृत्वमा पारदर्शिता र प्रक्रिया आधारित निर्णय हुने अपेक्षा गरिएको छ। गृहमन्त्री सुधन गुरुङ ले सशस्त्र प्रहरी मुख्यालय निरीक्षणका क्रममा व्यक्तिगत स्वार्थका लागि सरुवा–बढुवामा दबाब नदिन निर्देशन दिएका छन्। उनले सबै काम नियम र प्रक्रियाअनुसार हुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार