प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले

प्युठानको छेडाघाटको आगलागी ७ घण्टापछि नियन्त्रणमा, १३ जनाको घरगोठ जले

प्युठानको ऐरावती गाउँपालिका–१ छेडाघा बस्तीमा शनिबार राति भएको आगलागीबाट ठूलो क्षति भएको छ। स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरी अधिकारीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो। आगो राति करिब पौने १२ बजे सुरु भएको थियो र नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा बिहान ७ बजे मात्र नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन्।

आगलागीका कारण बस्तीका १३ घरपरिवारका घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमान अनुसार करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार