काठमाडौं। नेकपा एमालेका अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी छ। न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा यो सुनुवाइ भइरहेको छ। अघिल्लो आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो।
गत भदौ २३ र २४ गते भएको जनजागरण आन्दोलनको घटनाबारे छानबिनका लागि गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेको थियो। दुवै नेता गत चैत १४ गते बिहान पक्राउ परेका थिए।
ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्य र लेखकको तर्फबाट उनकी पत्नी यशोधा थापाले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्। अदालतले यस रिटमाथि फैसला दिने क्रममा पक्राउको वैधता र तत्काल रिहाइको सम्भावनालाई मूल्यांकन गर्दैछ।