• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

संसदमा राष्ट्रियता र जनताको पक्षमा एकजुटताको आग्रह

संसदमा राष्ट्रियता र जनताको पक्षमा एकजुटताको आग्रह

काठमाडौँ। प्रतिनिधि सभाको विशेष समयमा सत्ता र प्रतिपक्षका सांसदहरूले राष्ट्रियताको पक्षमा एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन्। सांसदहरूले संसदलाई जनताको आवाज मुखरित गर्ने थलो र ज्ञानको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकतालाई औँल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले नयाँ अनुहारका सांसदहरूले देश परिवर्तन गर्ने दृढता बोकेको र नवनिर्वाचित सभामुखको नेतृत्वमा सदनले जनअपेक्षा पूरा गर्न सक्ने विश्वास व्यक्त गरे। रास्वपा सांसद मनिष झाले संसदलाई केवल चिया चौतरी नभई गुरुकुल र विश्वविद्यालयको रूपमा स्थापित गर्नुपर्ने बताए। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिपक्षको आवाज सशक्त रहनु लोकतन्त्रको जीवन्तता सुनिश्चित गर्ने र वैचारिक विविधतालाई दुष्मनीको दृष्टिले लिन नहुने बताए।

एमालेका सांसद ऐनबहादुर महरले विद्यार्थी सङ्गठनमाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न आग्रह गर्दै विद्यार्थी अधिकारको संरक्षण आवश्यक भएको बताए। सांसद विष्णुमाया विकले डिजिटल माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि योजना बनाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद युवराज दुलालले नवयुवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्न आन्दोलन गरेको स्मरण गर्दै समाजवादोन्मुख राज्य व्यवस्था स्थापना गर्न सरकारको ध्यान जानुपर्ने सुझाव दिए। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले दुईतिहाइ मत प्राप्त सरकारले विकास र समृद्धिको लक्ष्य पूरा गर्न सक्नुपर्ने बताए।

रास्वपा सांसदहरूले जनताको मतको सम्मान गर्न र जातीय विभेद समाप्त गर्न जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट र दिगो वित्तीय परियोजनामा सदनलाई जानकारी दिन सरकारलाई आग्रह गरे। सांसदहरूले संसद र सरकारलाई जनताको अपेक्षा अनुसार काम गर्न जिम्मेवार बनाउने आवश्यकता औँल्याए।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार