बालेनसँग वर्षमानले भने– भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्

बालेनसँग वर्षमानले भने– भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे संवाद गर्नुस्

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई रोल्पा र लुम्बिनी प्रदेशमा विभिन्न विकास कार्यक्रम अघि बढाउन सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्ने क्रममा पुनले आफू निर्वाचित भएको रोल्पा तथा लुम्बिनी प्रदेशका चालु विकास आयोजना र केही नयाँ परियोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाउन ध्यानाकर्षण गराएका थिए।

पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्दै भारतसँग अन्तर्राष्ट्रिय हवाई मार्गको कूटनीतिक पहल ढिला नगरी अघि बढाउन सुझाव दिए। उनले भने, “भैरहवा विमानस्थलमा श्रम डेस्क राखेर नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरी पर्यटन क्षेत्रमा सम्भावनाको ढोका खोल्न अब ढिला गर्नु हुँदैन।” साथै, शहीद मार्गको घोराही–होलेरी खण्ड कालोपत्रे र रोल्पाको सुलीचौरदेखि उवासम्म सडक स्तरोन्नतिका लागि बजेट व्यवस्था गरिदिन समेत अनुरोध गरेका थिए।

जलविद्युत क्षेत्रमा, पुनले रोल्पास्थित माडी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माण अघि बढाउन सरकारसँग माग गरे। उक्त आयोजनालाई चीनको पावर कन्स्ट्रक्सन कर्पोरेसनसँगको संयुक्त लगानीमा अघि बढाउने तयारी भएको छ।

अर्थमन्त्री रहँदा पुनले अघि बढाएको गण्डकी आर्थिक त्रिभुज परियोजनालाई पनि प्राथमिकतामा राख्न उनले जोड दिए। परियोजना अनुसार भरतपुर, बुटवल र पोखरालाई त्रिभुजको तीन कोणमा राखेर निजी क्षेत्रसँग साझेदारीमा नयाँ आर्थिक केन्द्र विकास गर्ने योजना रहेको थियो। नारायणगढ–बुटवल खण्ड निर्माण सामग्री तथा हेभी उद्योग, मुग्लिन–पोखरा खण्ड कृषि तथा खाद्य प्रसोधन उद्योग, र पोखरा–बुटवल खण्ड विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा र घरायसी उत्पादन उद्योगको केन्द्रको रूपमा विकास गर्ने लक्ष्य तय गरिएको थियो।

कृषि क्षेत्रमा पनि पुनले लुम्बिनी प्रदेशको उर्वर भूमि प्रयोग गरी सिँचाइ, मल, बिउ, आधुनिक कृषि औजार र बजार व्यवस्थापनसहित एकीकृत परियोजना अघि बढाउन सुझाव दिएका छन्। उनी १६५ निर्वाचन क्षेत्रका लागि समानुपातिक विकास सुनिश्चित गर्न सांसदको सिफारिसमा केही परियोजना छुट्याउन पनि माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार