कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन गरिएको छ। नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई लक्षित गर्दै विषालु र अविषालु सर्प छुट्याउने तरिका, सर्पको टोकाइबाट बच्ने उपाय, डसेमा प्राथमिक उपचार गर्ने विधि तथा सर्प र मानिसको सुरक्षित उद्धार गर्ने सीपबारे प्रशिक्षण दिन थालेको हो।
टीकापुर नगरपालिका–१ ले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि छुट्याएको बजेटमार्फत करिब १०० टोल विकास संस्था, बडघर तथा सामुदायिक प्रतिनिधिलाई तालिम दिन सुरु गरेको जनाएको छ। तराई क्षेत्र भएकाले यहाँ सर्पदंशको जोखिम उच्च रहेको र मानिसहरूमा सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्ति अझै विद्यमान रहेकाले सचेतना आवश्यक भएको वडाध्यक्ष मोहन लुहार विकले बताएका छन्। उनका अनुसार सर्पको सही पहिचानले समयमै उपचारमा सहयोग पुग्ने मात्र होइन, वातावरणीय सन्तुलनका लागि सर्पको महत्वबारे बुझाउन पनि मद्दत पुग्नेछ।
हाल टीकापुर अस्पताल मा सर्पदंश उपचार सेवा उपलब्ध रहेको छ, जहाँ चालु आर्थिक वर्षमा हालसम्म ४७ जना बिरामी उपचारका लागि आएका छन्। नगरपालिकाका अनुसार अहिले एक जना मात्र सर्प उद्धारकर्ता रहेकाले थप जनशक्ति अभाव भएको छ। यसलाई मध्यनजर गर्दै २० जना युवालाई उद्धारकर्ता तालिम दिई दुर्घटना बीमासहित प्रत्येक वडामा स्वयंसेवकका रूपमा परिचालन गर्ने योजना अघि बढाइएको छ। यस पहलले सर्पदंशबाट हुने जोखिम घटाउनुका साथै समुदायमा दीर्घकालीन जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।