महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५ स्थित बथनाहा गाउँमा आज भएको सवारी दुर्घटनामा तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। जलेश्वर–बर्दिबास सडकखण्डमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीका कारण तीन जना विद्यार्थीको घटनास्थलमै जलेर मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका तीनमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृतक तथा घाइतेहरूको हालसम्म पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।