काठमाडौँ – आज देशभर दशौँ स्वास्थ्य बीमा दिवस विविध कार्यक्रममार्फत मनाइँदैछ। यस वर्षको दिवसको नारा “राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान” रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई स्वास्थ्य सेवा उपभोगका क्रममा हुने अनियोजित खर्चबाट बचाउने र वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य राखेको छ। यस कार्यक्रमको सुरुआत २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा भएको थियो र हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ।
कार्यक्रमले सबैका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्दै नेपाललाई सर्वव्यापी स्वास्थ्य पहुँचमा अग्रसर बनाउने र सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। यसैअनुरूप स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मार्फत बीमितको आर्थिक जोखिम न्यूनीकरण, सेवा प्रदायकको दक्षता वृद्धिको व्यवस्था गरिएको छ।
नियमावलीअनुसार, सुविधा दोब्बर गरी ज्येष्ठ नागरिकको बीमा शुल्क सरकारले तिर्ने व्यवस्था गरिएको छ भने, सङ्गठित क्षेत्रलाई आम्दानीको १% योगदान अनिवार्य गरी बीमामा आबद्ध गराइने व्यवस्था पनि छ।