सप्तरी — राजविराज–भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयवासीहरूले बुधबार सडक अवरुद्ध गरेका छन्। निर्माणाधीन सडक क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै उनीहरूले विरोध जनाउँदै सडक बन्द गरेका हुन्।
चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडकमा धुलोको मात्रा अत्यधिक बढेको स्थानीय राजन यादवले बताए। उनका अनुसार निर्माण कार्य भइरहेका बेला सडकमा नियमित रूपमा पानी नछर्किँदा समस्या झन् जटिल बनेको छ।यो सडक खण्डमा दैनिक सयौं माइक्रोबस तथा अन्य सवारीसाधन सञ्चालन हुने भएकाले धुलोका कारण यात्रु, चालक तथा पैदलयात्री सबै प्रभावित भएका छन्। स्थानीयहरूले धुलोका कारण दैनिक जनजीवन कष्टकर बनेको गुनासो गरेका छन्।
धुलोले वातावरण प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको स्थानीयको भनाइ छ। यही समस्याबाट आक्रोशित बनेका उनीहरूले निर्माण कम्पनीसँग तत्काल धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्कने व्यवस्था गर्न माग गरेका छन्।स्थानीयका अनुसार सम्बन्धित निकाय सडक डिभिजन कार्यालय लहानले समयमै ध्यान नदिँदा समस्या थप चर्किएको हो। लामो समयदेखि निर्माणाधीन सडक अलपत्र अवस्थामा रहँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।
उक्त सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानले २०७९ असार २३ गते साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि.सँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। तर, तोकिएको समयसीमा सकिँदा पनि सडक निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन।