काठमाडौँ। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसतर्फ प्रस्थान गर्ने भएका छन्। उनी चैत २७–२८ गते मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको नवौँ हिन्द महासागर सम्मेलन (IOC) मा सहभागी हुनेछन्। सम्मेलनको मुख्य शीर्षक ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ राखिएको छ।
परराष्ट्रमन्त्री खनालले यस अवसरमा नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन्। उनी सम्मेलनमा हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध, तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण राख्ने छन्। साथै, मन्त्री खनालले विभिन्न देशका समकक्षीहरूसँग बैठक–वार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ। उनी चैत ३० गते स्वदेश फर्कने अपेक्षा गरिएको छ।