पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतको परमादेश अनुसार हाजिर जमानीमा रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको सहमतिमा दुवैको उपस्थित हुने सुनिश्चित गर्दै रिहाइको प्रक्रिया अघि बढाएको जनाएको छ।
भदौ २३ र २४ का घटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि दुवैलाई चैत १४ मा पक्राउ गरिएको थियो। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्ने र अनुसन्धान पूरा नभए हिरासतमुक्त गर्ने आदेश जारी गरेको थियो। काठमाडौँ जिल्ला अदालतले थपेको तेस्रो म्याद हिजोसम्म मात्रै मान्य थियो।
स्वास्थ्य कारणले ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी नम्बर–२ गणको हिरासतमा राखिएको थियो। सर्वोच्च अदालतको आदेश अनुसार अब दुवैलाई हाजिर जमानीमा रिहा गर्ने तयारी भइरहेको छ।