३ वर्षमा निर्माण सक्नुपर्ने सडक ५ वर्षसम्म अधुरै, धुलोले जनजीवन प्रभावित

३ वर्षमा निर्माण सक्नुपर्ने सडक ५ वर्षसम्म अधुरै, धुलोले जनजीवन प्रभावित

सप्तरी — सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्म निर्माणाधीन सडक विस्तारमा भएको ढिलासुस्तीका कारण स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। निर्माण कार्य समयमै सम्पन्न नहुँदा सडक छेउछाउका बस्तीहरू धुलो र हिलोबाट प्रत्यक्ष प्रभावित भएका छन्।

कमला नदीदेखि कञ्चनपुरसम्मको ८६.८३ किलोमिटर सडकखण्ड चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। प्रारम्भिक सम्झौताअनुसार तीन वर्षभित्र, अर्थात् सन् २०२३ अक्टोबरसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि पाँच वर्ष बितिसक्दा समेत काम सकिएको छैन। हालसम्म तीन पटक म्याद थपिँदै निर्माण अवधि सन् २०२६ जुनसम्म पुर्‍याइएको छ।

निर्माण ढिलाइका कारण हिउँदमा अत्यधिक धुलो र बर्खामा हिलोले स्थानीय जनजीवन कष्टकर बनेको छ। रूपनीका श्याम यादवका अनुसार धुलोका कारण रुघाखोकीजस्ता स्वास्थ्य समस्या बढेका छन् भने विद्यालय जाने बालबालिका पनि प्रभावित भएका छन्। कञ्चनपुरका रिझन यादवले पाँच वर्षसम्म पनि काम नसकिनु राज्यको चरम लापरबाही भएको आरोप लगाएका छन्।यो सडक विस्तारको ठेक्का चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ले सन् २०२० जुनमा लिएको थियो र सोही वर्षको अक्टोबरदेखि निर्माण सुरु भएको थियो। आयोजनाका अनुसार हालसम्म पश्चिमी खण्डमा ७०.७ प्रतिशत भौतिक र ५७.५४ प्रतिशत वित्तीय प्रगति भएको छ भने पूर्वी खण्डमा ६७ प्रतिशत भौतिक र ६३ प्रतिशत वित्तीय प्रगति भएको छ।

आयोजनाको कुल लागत भेरिएसनपछि करिब १६ अर्ब ८ करोड ५० लाख रुपैयाँ पुगेको छ। यसमध्ये ७१.२२ प्रतिशत रकम एसियाली विकास बैंकको ऋण र २८.७८ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ।आयोजना प्रमुख उज्वल श्रेष्ठका अनुसार निर्माण कम्पनीले पछिल्लो समय मुख्य कामहरूमा ध्यान नदिई सामान्य कार्य मात्र गरिरहेको छ। समयमा काम सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनीसमेत दिइएको उनले जानकारी दिए। पूर्वी खण्डका प्रमुख निरज शाक्यले महँगीका कारण निर्माणमा ढिलाइ भएको दाबी गरे पनि कार्यालयले निरन्तर ताकेता गरिरहेको बताएका छन्।

सडक विस्तारको सुस्त गतिले रूपनी, कठौना, कल्याणपुर, बिसनपुर, लहान, मिर्चैया र गोलबजारजस्ता क्षेत्र धुलाम्य बनेका छन्। साथै अधुरा पुल र साँघुरा डाइभर्सनका कारण दुर्घटनाको जोखिम पनि बढेको छ।समयमै आयोजना सम्पन्न हुन नसक्दा यो सडक केवल पूर्वाधार विकासको विषयमा सीमित नरही जनस्वास्थ्य र सुरक्षासँग जोडिएको गम्भीर समस्याका रूपमा देखिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार