मणिपुरमा फेरि चर्कियो हिंसा, दोहोरो मारमा नेपालीभाषी

मणिपुरमा फेरि चर्कियो हिंसा, दोहोरो मारमा नेपालीभाषी

करिब तीन वर्षदेखि अशान्त रहँदै आएको भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पुनः हिंसा चर्किएको छ। दुई बालबालिकाको ज्यान गएको घटनापछि सुरु भएको विरोध प्रदर्शनले फेरि हिंसात्मक रूप लिएको हो। यस द्वन्द्वको असर स्थानीय मैतेई र कुकी–नागा समुदायसँगै त्यहाँ बसोबास गर्ने हजारौँ नेपालीभाषी समुदायमा पनि परेको छ।

मणिपुरको विष्णुपुर जिल्लामा ७ अप्रिलमा भएको बम आक्रमणमा ५ वर्षका बालक र ६ महिनाकी बालिकाको मृत्यु भएपछि स्थिति थप तनावग्रस्त बन्यो। उक्त घटनापछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिए। प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर दुई सर्वसाधारणको ज्यान गयो भने झडपमा २० भन्दा बढी घाइते भएका छन्।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रशासनले विष्णुपुरसहित इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल र काकचिङ जिल्लामा कर्फ्यु लगाएको छ। साथै अफवाह फैलिन नदिन मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ। यद्यपि स्थानीय प्रदर्शन भने अझै रोकिएको छैन।

मणिपुरमा करिब ६० हजार नेपालीभाषी (गोर्खा) समुदाय बसोबास गर्छन्। उनीहरू द्वन्द्वमा प्रत्यक्ष संलग्न नभए पनि यसको प्रत्यक्ष असर भोगिरहेका छन्। विगत १० वर्षमा १० हजारभन्दा बढी नेपालीभाषी विस्थापित भइसकेका छन् भने पछिल्लो हिंसापछि यो संख्या अझै बढ्ने चिन्ता व्यक्त गरिएको छ। विभिन्न क्षेत्रमा नेपाली बस्तीहरू खाली हुँदै गएका छन् र बाँकी रहेका मानिसहरू पनि त्रासमा जीवन बिताइरहेका छन्।मणिपुरको हिंसा नयाँ नभई दशकौँदेखिको जातीय, राजनीतिक र धार्मिक तनावको परिणाम हो। विशेषगरी सन् २०२३ मा मैतेई समुदायलाई अनुसूचित जनजाति (एसटी) सूचीमा समावेश गर्ने विषयमा अदालतको सिफारिसपछि कुकी र नागा समुदायले विरोध गर्दा द्वन्द्व चर्किएको थियो।

सरकारी तथ्यांकअनुसार सन् २०२४ सम्ममा करिब २५८ जनाको मृत्यु, ६० हजारभन्दा बढी विस्थापन, हजारौँ घाइते र हजारौँ घर तथा धार्मिक संरचना नष्ट भएका छन्।स्थिति नियन्त्रणमा लिन भारत सरकारले फेब्रुअरी २०२५ मा राष्ट्रपति शासन लागू गरेको थियो। पछि नयाँ सरकार गठन भए पनि शान्ति स्थापना हुन सकेको छैन। द्वन्द्वरत पक्षबीच विश्वासको गहिरो संकट, भूमि अधिकारको विवाद, धार्मिक ध्रुवीकरण र सशस्त्रीकरणले समस्या झन् जटिल बनाएको छ।

अहिले मणिपुरमा “कोही पनि सुरक्षित छैन” भन्ने अवस्था देखिएको छ। विशेषगरी नेपालीभाषी समुदायजस्ता बीचमा परेका समूहहरू सबैभन्दा बढी असुरक्षित बनेका छन्।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार