काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू शनिबार बिहानैदेखि भत्काउन थालिएको छ । सरकारले दुई दिनअघि सूचना जारी गर्दै काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउने निर्णय गरेसँगै आजबाट कार्यान्वयन सुरु भएको हो । थापाथली क्षेत्रमा बिहानैदेखि डोजर सञ्चालन गरिएको छ भने सिनामंगल, मनोहरा लगायतका स्थानमा बस्ती खाली गराउने प्रक्रिया जारी छ । वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमवासीहरू सरकारी निर्देशन र आश्वासनसहित स्थानान्तरण हुन थालेका छन् । यद्यपि धेरै परिवार अझै अन्योलमा छन्—कतिपयले वैकल्पिक बसोबासको व्यवस्था गरिसकेका भए पनि धेरैलाई अब कहाँ जाने भन्ने चिन्ता छ । सरकारले सुकुमवासीका लागि तीनवटा स्थान तोकेको जनाएको छ, तर सबैको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । बस्तीमा डोजर चलेपछि स्थानान्तरण हुन बाँकी रहेका केही परिवारको अवस्था अत्यन्तै पीडादायी देखिन्छ । एक आमाले कोक्रोमा बच्चा राखेको दृश्यले मानवीय संवेदनालाई झकझक्याएको छ भने बस्ती बाहिर खुला स्थानमा सुकुमवासीहरू अस्थायी रूपमा बस्दै खाना पकाएर गुजारा गरिरहेका छन् ।