इन्धन महँगीको असर: सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशत बढ्यो

इन्धन महँगीको असर: सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशत बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा आज बुधबारदेखि लागू हुने गरी वृद्धि गरिएको हो ।

अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालबाहक तथा तराईका मालबाहक सवारी साधनमा समान रूपमा ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ । यसअघि पनि चैत २५ गते भाडा वृद्धि गरिएको थियो । भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा सहमति दिएको थियो ।

हाल डिजलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ पुगेको छ । विभागले विद्युतीय सवारी साधनलाई भने भाडा वृद्धि नगर्न निर्देशन दिएको छ । यदि विद्युतीय सवारीले भाडा बढाएमा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार