काठमाडौं । भारतको तमिलनाडु राज्यको राजनीतिमा दशकौँदेखि कायम दुईदलीय वर्चस्वलाई चुनौती दिँदै अभिनेता जोसेफ विजय नेतृत्वको नयाँ शक्ति तीव्र गतिमा उदाएको छ। पाँच राज्यको विधानसभा चुनावको नतिजा आउने क्रममा तमिलनाडुले वैकल्पिक नेतृत्वको स्पष्ट संकेत दिएको छ, जहाँ विजय नेतृत्वको तमिलग वेत्री कझगम (टिभीके) सत्ताको बागडोर सम्हाल्ने बलियो अवस्थामा देखिएको छ। सन् २०२४ मा गठन भई छोटो समयमै लोकप्रिय बनेको यस दलले परम्परागत राजनीतिक समीकरणलाई तोड्दै नयाँ युगको सुरुवात गरेको छ। तीन दशकसम्म फिल्म क्षेत्रमा सुपरस्टारका रूपमा स्थापित विजयले आफ्नो उत्कर्ष करियर त्यागेर राजनीतिमा पूर्णकालीन रूपमा होमिएका हुन्। प्रविधिमैत्री प्रचार शैली—होलोग्राम, बडी डबल तथा ‘सिठी’ चिन्हको प्रभावकारी प्रयोगमार्फत उनले मतदातामाझ अलग पहिचान बनाएका छन्। उनका फिल्ममार्फत उठाइएका सामाजिक मुद्दा र जनतासँगको भावनात्मक सम्बन्धले उनलाई ‘जननायक’को छवि दिलाएको छ। यस नतिजालाई अन्नादुरई र एमजी रामचन्द्रनले ल्याएको ऐतिहासिक परिवर्तनपछिको ठूलो मोडका रूपमा हेरिएको छ, जसले तमिलनाडुको राजनीतिमा नयाँ युगको संकेत गरेको छ।