काठमाडौं । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसै धारिलो हतियार प्रहार गर्दा एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विपिन घिमिरेमाथि दिउँसो करिब साढे २ बजे आक्रमण भएको हो । गम्भीर घाइते भएका उनलाई उद्धार गरी कीर्तिपुर अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच भएको झगडाका क्रममा हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।