काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका ४ वटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको मूल्य ३ हजार ८६० रुपैयाँ तोकेको छ।
मन्त्रिपरिषद्ले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय गरिएको छ।