तीन वर्षे ऐतिहासिक कुम्मायक–कुसायक पूजा तथा मेलाले यासोकमा रौनक

तीन वर्षे ऐतिहासिक कुम्मायक–कुसायक पूजा तथा मेलाले यासोकमा रौनक

पाँचथरको यासोक बजारमा हरेक तीन वर्षमा आयोजना हुने ऐतिहासिक कुम्मायक–कुसायक पूजा तथा मेलाले यतिबेला विशेष रौनक थपेको छ । बुधबार बिहान वर्षात्को बीच परम्परागत पोसाकमा सजिएका भक्तजन च्याब्रुङ, नौमतीबाजा र साकेलासहित पूजा सामग्री बोकेर कुम्मायकतर्फ उक्लिएका थिए । तङ्सुम तङ्नाम त्रिशाली पूजा तथा मेलाका कारण यासोक बजार झकिझकाउ र भरिभराउ बनेको छ । कुम्मायकमा नैवेद्य पूजा र कुसायकमा बलि दिने परम्परा रहेको छ भने दर्शन तथा भाकल पूरा गर्न नेपालका विभिन्न स्थानसहित विदेशबाट समेत भक्तजन आउने गरेका छन् । धनकुटाबाट आएकी पार्वती इवाले कामना पूरा भएको अनुभूति गर्दै तेस्रो पटक पूजा गर्न आएको बताइन् । आयोजकका अनुसार राजा उहाङको पालादेखि सुरु भएको मानिने यो पूजा छैटौँ/सातौँ शताब्दीदेखि निरन्तर चल्दै आएको विश्वास छ । मेलामा धाननाच, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, त्रिशाली गोल्डकप फुटबल, ब्याडमिन्टन, चेस प्रतियोगिता तथा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति भइरहेको छ । शनिबारसम्म सञ्चालन हुने मेलामा गाउँपालिकाको सक्रिय सहयोग रहेको कुम्मायक गाउँपालिकाका अध्यक्ष बम लावतीले बताएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार