काठमाडौं । उपभोक्ताका लागि सुन्तला एउटा सामान्य फल भए पनि नेपालको मध्यपहाडी क्षेत्रका लाखौं किसानका लागि यो नगद आम्दानीको मुख्य आधार हो। कुल फलफूल उत्पादनको २०.८१ प्रतिशत हिस्सा ओगटेको सुन्तलाजात फलफूल खेतीलाई अहिले ‘सिट्रस ग्रिनिङ’ (ह्वाङलोङबिङ–एचएलबी) नामक घातक ब्याक्टेरियाले चुनौती दिएको छ। अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल प्लोस वन मा प्रकाशित अनुसन्धानअनुसार नेपालका सुन्तला बगैँचामा ‘क्यान्डिडेटस लिबेरिब्याक्टर एसियाटिकस’ नामक ब्याक्टेरिया तीव्र रूपमा फैलिरहेको छ। कृषि तथा वन मन्त्रालयअन्तर्गतका विज्ञहरू र त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ६ प्रदेशका १३ जिल्लाबाट संकलित १ हजार २६ वटा नमूनाको परीक्षण गर्दा २५५ वटामा संक्रमण पुष्टि गरेका छन्। यो ब्याक्टेरियाले बोटको पोषक तत्व र पानी ओसार्ने फ्लोएम टिस्युमा असर पुर्याई बिस्तारै रुखलाई सुकाउँदै लैजान्छ। संक्रमित रुख बाहिरबाट हरियो र स्वस्थ देखिए पनि भित्रभित्रै रोगले ग्रसित भइसकेका हुन्छन् र सिट्रस साइला नामक रस चुस्ने कीरामार्फत अन्य स्वस्थ बोटमा समेत संक्रमण फैलिन्छ। रोगका कारण पात पहेँलो हुने, जराहरू कुहिने, फल बाङ्गोटिङ्गो र स्वादमा अत्यधिक अमिलो तथा तितो हुने भएकाले उत्पादन बजारयोग्य रहँदैन। यसले सुन्तला खेतीमा निर्भर किसानहरूको आम्दानीमा ठूलो असर पार्ने र नेपालको सुन्तला उत्पादनमै गम्भीर संकट निम्त्याउने खतरा बढेको अनुसन्धानले देखाएको छ।