टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले उक्त आदेश जारी गरेको हो।

अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो। त्यसपछि अनुसन्धान पूरा गरी उनलाई अदालतमा उपस्थित गराइएको थियो।उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। पछिल्लो समय उनी चीनमा बस्दै आएकी थिइन्। अनुसन्धान अघि बढेपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।

उनले आफू भदौ १९ गतेसम्म नेपालमै रहेको, त्यस अवधिमा प्रहरीले कुनै सम्पर्क नगरेको र चीन पुगेपछि मात्रै पक्राउ पुर्जी जारी भएको जानकारी पाएको दाबी गरेकी थिइन्। साथै, आफ्ना प्रतिनिधिहरूले प्रहरीसँग बुझ्न जाँदा जाहेरीसमेत नदेखाइएको उनको भनाइ थियो।

त्यसपछि प्रहरीले भ्रम फैलाउने प्रयास नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो। प्रहरीका अनुसार कुमार चिमोरियाले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए।अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत संलग्न रहेको आशंका देखिएपछि २०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण विभागको सुझाव लिएर सोही कसुरमा पनि अनुसन्धान अघि बढाइएको थियो।

अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। अब उक्त मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी पुर्पक्षका लागि थुनामै रहनेछिन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार