खोटाङको मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवासुङ र लामीडाँडा जोड्ने लप्से (पंखु) खोलामा जेठ २७ गते राति गोपिनी नायपा सामुदायिक वन क्षेत्रअन्तर्गत लामीडाँडाको ढाँडखर्कबाट खसेको लेदो माटोसहितको पहिरोले सडक अवरुद्ध बनाएको स्थानीय शिक्षक दिलीपचन्द्र राईले बताए। पहिरोले सडकसँगै कुलो लगायतका संरचनामा समेत क्षति पुर्याएको छ। सडक अवरुद्ध भएपछि भोजपुर–काठमाडौं आवतजावत गर्ने तथा दिक्तेल, बानाचुङदेखि भोजपुर हुँदै पूर्वी सहरतर्फ जाने–आउने सवारी साधन सञ्चालन हुन सकेका छैनन्। क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाउन नगरपालिकाले डोजर र स्काभेटरसहित जनशक्ति परिचालन गरेको जनाएको छ। यस क्षेत्रमा यसअघि पनि पटक–पटक पहिरो र बाढीको समस्या देखिँदै आएको छ। गत जेठ २३ गते लप्से खोलामा आएको बाढीले सडक बगाउँदा करिब नौ घण्टा सवारी आवतजावत ठप्प भएको थियो। २०७३ सालमै निर्माण सम्पन्न हुनुपर्ने लप्से खोलाको पक्की पुल ठेकेदारको ढिलासुस्तीका कारण अझै अलपत्र रहेकाले वर्षायाममा यात्रु, मालवाहक सवारी, एम्बुलेन्स, मोटरसाइकल तथा पैदलयात्रीले सास्ती भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन्।