• २०८३ साउन २९ गते शुक्रवार
  • Preeti To Unicode

भूमिहीन दलित परिवारलाई आत्मनिर्भर बनाउन सिरहामा १२ हाते ट्याक्टर वितरण

भूमिहीन दलित परिवारलाई आत्मनिर्भर बनाउन सिरहामा १२ हाते ट्याक्टर वितरण

सिरहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिकामा भूमिहीन दलित परिवारलाई खेतीपातीमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले १२ वटा हाते ट्याक्टर वितरण गरिएको छ। ‘एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना’अन्तर्गत पाँच वडाका ३८ कृषक समूहमध्ये १२ समूहलाई हाते ट्याक्टर उपलब्ध गराइएको हो। गाउँपालिका, दलित जनकल्याण युवा क्लब र मेनोनाइट सेन्ट्रल कमिटीको सहकार्यमा सञ्चालित परियोजनाअन्तर्गत किसानलाई हाते ट्याक्टर सञ्चालनसम्बन्धी तालिमसमेत दिइएको छ भने प्रत्येक समूहमा एक–एक जना चालक तोकिएको सामाजिक परिचालक सन्तोषकुमार विसुन्केले जानकारी दिए। स्थानीय सुलेना सदायका अनुसार परियोजनामार्फत वार्षिक ४१ हजार १०० रुपैयाँमा लिजमा लिइएको दुई बिघा पाँच कठ्ठाभन्दा बढी जग्गामा १० भूमिहीन परिवारले खेती गरिरहेका छन्, जसबाट खाद्य सुरक्षा सुनिश्चित हुनुका साथै बचतसमेत हुन थालेको छ। यस्तै, छिमेकी बरियारपट्टि गाउँपालिकाका चार वडाका आठ समूहलाई पनि पाँच लाख ६१ हजार ९६८ रुपैयाँ बराबरका हाते ट्याक्टर उपलब्ध गराइएको परियोजना संयोजक लालप्रसाद पोखरेलले बताए। उनका अनुसार लिजमा उपलब्ध गराइएको जग्गामा खेती गर्दै भूमिहीन दलित परिवारले आर्थिक अवस्था सुधार गर्न थालेका छन्। बरियारपट्टि गाउँपालिका–३ का वडाध्यक्ष विनोदकुमार यादवले भूमिहीन दलित परिवारको सुरक्षित बसोवास, बालबालिकाको शिक्षा, सरसफाइ तथा सामाजिक सुधारका लागि वडास्तरबाट समेत पहल भइरहेको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार