काठमाडौँ — कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले चालु आर्थिक वर्षमा अहिलेसम्मकै बढी परिमाणमा किसानलाई मल उपलब्ध गराइने जानकारी दिएकी छन्। उनले राष्ट्रियसभामा बिहीबार जानकारी दिँदै चालु आर्थिक वर्षमा हालसम्म ५,५८,५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४,६८,०१६ मेट्रिक टन किसानलाई वितरण भइसकेको बताइन्। अहिले गोदाममा १,३८,८०२ मेट्रिक टन मल मौज्दात रहेको छ भने असार मसान्तसम्म कुल ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जनाइन्। मन्त्री चौधरीले मलको अभाव नहोस् भनेर मन्त्रालयले विभिन्न तयारी र प्रयास गरिरहेको उल्लेख गर्दै, आपूर्तिकर्ताहरुलाई समयमै मल आपूर्ति गर्न निर्देशन दिइएको जानकारी दिइन्। यसैगरी, असार अन्त्यदेखि साउनसम्म ९० हजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा छ। साथै, भारतसँग जी टु जी खरीदमार्फत ८० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरु भइसकेको छ, जसमा पहिलो चरणमा युरिया ३० हजार टन र डीएपी २० हजार टन खरिदको तयारी भइरहेको उनले बताइन्।