सिद्धपोखरी संरक्षणमा भक्तपुर महानगर सक्रिय, मर्मत कार्य तीव्र गतिमा

सिद्धपोखरी संरक्षणमा भक्तपुर महानगर सक्रिय, मर्मत कार्य तीव्र गतिमा

काठमाडौँ । भक्तपुर नगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी को संरक्षण तथा पुनःनिर्माण कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीको सट्टा स्थानीयको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै उपभोक्ता समितिमार्फत मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ। यसका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति’ गठन गरिएको छ। समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो। आगामी भदौको दोस्रो सातासम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मर्मतका लागि नगरपालिकाले ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने हाल दैनिक ३० देखि ३२ जना जनशक्ति परिचालन गरी पोखरीको पेटी तथा अन्य संरचनाको मर्मत भइरहेको छ। नगरपालिकाले स्थानीय बासिन्दा, क्लब, दाफाभजन समूह, गुठी तथा विभिन्न सङ्घसंस्थालाई श्रमदानमार्फत सम्पदा संरक्षण अभियानमा सहभागी हुन आह्वान गर्दै आएको छ। नगरपालिकाका अनुसार सिद्धपोखरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण सम्पदा हुनुका साथै भक्तपुर दरबार क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार