काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव देशका विभिन्न जिल्लामा बढ्दै गएको छ । सरकारद्वारा तीन महिनाअघि अस्थायी रूपमा लागू गरिएको ‘आधा सिलिन्डर’ (७.१ किलो) ग्यास वितरण नीति नै अहिले अभावको मुख्य कारण बनेको भन्दै व्यवसायी, उद्योगी र उपभोक्ताले गुनासो गरेका छन् । जनकपुर, सर्लाही, सुर्खेत, गुल्मी, सल्यानलगायत पहाडी तथा तराईका जिल्लामा ग्यासका लागि घण्टौं लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । व्यवसायीहरूका अनुसार आधा सिलिन्डर वितरण गर्दा ढुवानी खर्च दोब्बर बढेको, उद्योगी र डिलरको आम्दानी घटेको तथा मागअनुसार आपूर्ति गर्न कठिन भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यास आयात नियमित भए पनि आधा सिलिन्डरका कारण दूरदराजमा आपूर्ति महँगो र जटिल बनेको जनाएको छ भने तराईका केही क्षेत्रमा भारततर्फ ग्यास तस्करी भइरहेको दाबी गरेको छ । यता नेपाल आयल निगमले भने आयातमा कुनै समस्या नरहेको र आधा सिलिन्डर नीति लागू भएपछि बजारमा ग्यासको माग नै घटेको बताएको छ । निगम र व्यवसायीबीचको मतभेद तथा नीतिगत अन्योलका बीच सर्वसाधारण उपभोक्ताले ग्यास अभाव, लामो प्रतीक्षा र बढ्दो खर्चको मार खेप्नुपरेको छ ।