काठमाडौं । पासपोर्ट खरिद प्रकरणमा बयानका लागि म्याद तामेल भएपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन्। अख्तियार स्रोतका अनुसार बुधबार आयोगको इमेलमा आएको पत्रमा उनले आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने उल्लेख गरेकी छन्। अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाउँदै उनले उपचारका कारण तत्काल नेपाल फर्किन नसक्ने जानकारी दिएकी हुन्। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान अघि बढाएपछि अख्तियारले बूढानीलकण्ठस्थित उनको निवासमा म्याद तामेल गर्दै तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो। अख्तियारको अनुसन्धानका क्रममा गत वर्षको इ–पासपोर्ट खरिद प्रक्रियामा आरजुको कुनै लिखित निर्देशन वा औपचारिक निर्णय नदेखिए पनि ठेक्का प्रक्रियाको डिजाइन, प्याकेज निर्माण तथा ठेकेदार मिलाउने काममा उनी र उनका छोरा जयवीर देउवा संलग्न रहेको भन्दै विभिन्न उजुरी परेका छन्। अनुसन्धान टोलीले जयवीर देउवा, सिद्धार्थ थापा लगायतका व्यक्तिहरू र राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालबीच पटक–पटक भेटघाट भएको सूचना समेत प्राप्त गरेको बताइएको छ। उजुरी तथा पुनरावलोकनपत्रहरूमा टेण्डर मूल्यांकनका क्रममा प्रक्रिया मिचिएको, ब्लेड सर्भरको सट्टा र्याक सर्भर प्रस्ताव गर्ने कम्पनीलाई स्वीकार गरिएको लगायतका विषयसमेत उठाइएकाले अख्तियारले ती पक्षबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ।