काठमाडौं । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र देशभर पहिचान भएका सबै पहिरो व्यवस्थापन गर्ने र ३ हजार नयाँ पुल निर्माण गर्ने योजना अघि सारेको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक सुरक्षा तथा पहिरो नियन्त्रणका लागि २३ अर्ब रुपैयाँको बहुवर्षीय बजेट विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरो क्षेत्रमा ‘स्लोप प्रोटेक्सन’सहित आवश्यक सुरक्षाका काम सम्पन्न गरिनेछ भने वार्षिक रूपमा बजेट थप्दै योजना कार्यान्वयन गरिनेछ। नेपालका राजमार्गहरू सडक सुरक्षाका दृष्टिले अझै असुरक्षित रहेको स्वीकार गर्दै उनले अब निर्माण हुने सबै नयाँ राजमार्गमा अन्डरपास, ओभरपास र फ्लाइओभर अनिवार्य गरिने तथा निर्माणाधीन सडकमा पनि ‘भेरिएसन अर्डर’मार्फत क्र्यास ब्यारियर, रोड मार्किङ, ट्राफिक सिग्नल र सम्भव भएसम्म अन्डरपास तथा ओभरपास थपिने बताए। साथै, सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न स्थानीय पूर्वाधार विभागमार्फत आगामी तीन वर्षभित्र ३ हजार पुल निर्माण गर्ने लक्ष्य राखिएको छ, जसका लागि सरकारले ८१ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए। हाल बजेट पुस्तिकामा करिब एक हजार पुल समावेश भए पनि बाँकी दुई हजार पुलको प्रमाणीकरण प्रक्रिया पूरा भएपछि बजेट सुनिश्चित गरिने र डीपीआर तथा टेन्डर प्रक्रिया अघि बढेसँगै रकमान्तरमार्फत निर्माणलाई तीव्रता दिई तोकिएको समयमै लक्ष्य पूरा गरिने मन्त्री लम्सालले प्रतिबद्धता जनाए।