काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै हासिल गरेको जनसमर्थन लोभलाग्दो र असाधारण रहेको बताएका छन्। रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले रास्वपाले छोटो अवधिमै प्राप्त गरेको जनमतको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको राजनीतिक इतिहासमा यस्ता प्रकारका जनमत निकै कम दलले मात्र पाएको स्मरण गराए। उनले इतिहासमा करिब तीन–चार पटक मात्रै यस्ता जनमत प्राप्त भएको र तीमध्ये अधिकांश दल विभिन्न कारणले दुर्घटनामा परेको उल्लेख गरे। साथै संगठन निर्माणदेखि निर्वाचनमा सफलता हासिल गर्ने यात्रामा पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले देखाएको नेतृत्व तथा कार्यकर्ताको साथ प्रशंसनीय रहेको भन्दै उनीहरू सबै बधाइका पात्र भएको बताए।