काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि बेदकोट र भीमदत्त नगरपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै बेदकोट नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म चार दिनका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिएका छन्। यस्तै, भीमदत्त नगरपालिकाले पनि बढ्दो गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयमा असार ८ गतेदेखि असार १९ गतेसम्म १२ दिनका लागि गर्मी तथा वर्षे बिदा एकमुष्ट रूपमा लागू गर्ने निर्णय गरेको जनाएको छ। कञ्चनपुरमा पछिल्लो एक सातादेखि अत्यधिक गर्मी बढिरहेको छ भने मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर (हीटवेभ) चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।