• २०८३ भाद्र १२ गते शुक्रवार
  • Preeti To Unicode

बजेट कटौती र पदाधिकारी अभावविरुद्ध त्रिवि स्ववियुको पोस्टर प्रदर्शन

बजेट कटौती र पदाधिकारी अभावविरुद्ध त्रिवि स्ववियुको पोस्टर प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले उच्च शिक्षाको बजेट कटौती र विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन रहेको विरोधमा कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन गरेको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नभएको भन्दै मंगलबार गरिएको प्रदर्शनमा स्ववियुले चालु आर्थिक वर्षमा उच्च शिक्षाका लागि छुट्याइएको २१ अर्ब रुपैयाँ बजेट आगामी आर्थिक वर्षका लागि घटाएर १६ अर्ब ९२ करोड रुपैयाँमा सीमित गरिएको तथा देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिविलाई काठमाडौं विश्वविद्यालयलगायत अन्य शिक्षण संस्थासँग एउटै बास्केटमा राखेर बजेट विनियोजन गरिएकोप्रति आपत्ति जनाएको छ। स्ववियु सभापति दिपकराज जोशीका अनुसार बजेट कटौती र पदाधिकारी अभावका कारण विश्वविद्यालयको प्रशासनिक तथा प्राज्ञिक गतिविधि प्रभावित भएको, कार्यकारी परिषद्को बैठक बस्न नसक्दा नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रिया रोकिएको तथा विद्यार्थीहरू स्वास्थ्य बीमा लगायतका सेवाबाट समेत वञ्चित भएका छन्। साथै, लामो समयदेखि त्रिवि सेवा आयोग निष्क्रिय हुँदा परीक्षाफल प्रकाशन, अन्तर्वार्ता र नियुक्तिसम्बन्धी प्रक्रिया ठप्प भएको, करिब २०० प्राध्यापक तथा उपप्राध्यापक अन्तर्वार्ताको प्रतीक्षामा रहेको, १३० प्राध्यापक र १९१ शाखा अधिकृतको नियुक्ति प्रक्रिया रोकिएको भन्दै स्ववियुले त्रिवि सेवा आयोगमा अध्यक्ष र सदस्यहरूको तत्काल नियुक्ति गरी आयोगलाई पूर्णता दिन सरकार र शिक्षा मन्त्रालयसँग माग गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार