काठमाडौं । बैंकिङ कसुर मुद्दामा १३ वर्षदेखि फरार रहेकी चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको छ। कार्कीले बनावटी कागजात तयार गरी हाउजिङ तथा निर्माण कार्यका नाममा कृत्रिम व्यावसायिक परियोजना खडा गर्दै क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सबाट कर्जा लिएको, तर उक्त रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरेको आरोप छ। सोही मुद्दामा उच्च अदालत पाटनले २०७१ वैशाख २९ गते उनलाई ८ करोड ५० लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो। त्यसयता फरार रहँदै आएकी कार्कीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।