काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीको आयोजना तथा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा धनकुटा, झापा, सुनसरी र मोरङका स्थानीय तहमा नगर प्रहरी तथा स्थानीय बासिन्दालाई लक्षित गरी असार ९ गतेदेखि ७ दिने विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। तालिममा आगलागी, जलजन्य प्रकोप, प्राथमिक उपचार, सिपिआर (सीपीआर), रोप रेस्क्यु, भत्किएका घर तथा संरचनामा खोज तथा उद्धारलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइँदैछ। कार्यक्रम सशस्त्र प्रहरी बल नं. २ गण झापा, नं. ३ कंकालिनीमाई गण मोरङ, रंगेली नगरपालिकाको सभाहल, नं. ४ गण सुनसरी र नं. ६ छिन्ताङ्ग गुल्म धनकुटामा सञ्चालन भइरहेको छ। प्रत्येक स्थानबाट २०–२० जना नगर प्रहरी तथा स्थानीय बासिन्दासहित कुल १०० जनाको सहभागिता रहेको उक्त तालिम असार १६ गतेसम्म सञ्चालन हुने सशस्त्र प्रहरीले जनाएको छ। तालिमले विपद्का बेला उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति र विपद् स्वयंसेवक उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।