काठमाडौं । उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै राउण्ड अफ ३२ को समिकरण पूरा भएको छ। आइतबार बिहान अर्जेन्टिना–जोर्डन र अस्ट्रिया–अल्जेरियाबीचका अन्तिम समूह चरणका खेल सम्पन्न भएपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागेको हो। पहिलो पटक ४८ राष्ट्र सहभागी भएको विश्वकपमा ७२ खेलपछि १२ समूहका विजेता र उपविजेता गरी २४ तथा उत्कृष्ट तेस्रो स्थानमा रहेका ८ टोलीले अन्तिम ३२ मा स्थान बनाएका छन्। साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सजस्ता उपाधि दाबेदार टोलीहरू नकआउट चरणमा पुगेका छन् भने दुई पटकको विश्वविजेता उरुग्वे जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ। सहआयोजक अमेरिका, मेक्सिको र क्यानडा तीनै टोलीले नकआउट यात्रा तय गर्दा क्यानडाले घरेलु मैदानमा पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेर इतिहास रच्यो। यस्तै पुनरागमन गरेका नर्वे, बोस्निया एण्ड हर्जगोभिना र दक्षिण अफ्रिकासँगै डेब्यु टोली केप भर्डेले पनि अन्तिम ३२ मा स्थान बनाएका छन्। महादेशगत रूपमा युरोपबाट १३, अफ्रिकाबाट ९, दक्षिण अमेरिकाबाट ५, उत्तर अमेरिकाबाट ३ तथा एसियाबाट जापान र अस्ट्रेलिया गरी २ टोली नकआउट चरणमा पुगेका छन्। अब राउण्ड अफ ३२ अन्तर्गत असार १५ गतेदेखि खेलहरू सुरु हुनेछन्, जहाँ प्रत्येक खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिने र विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।