काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने दाबी गरेका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षमा हालसम्म ३५ प्रतिशत पनि पूँजीगत खर्च हुन नसकेको स्वीकार गर्दै आगामी वर्षदेखि यस्तो अवस्था दोहोरिन नदिने बताए। पूँजीगत खर्च बढाउन सके राजस्व संकलनमा समेत सुधार आउने उल्लेख गर्दै उनले नयाँ बजेटमार्फत विभिन्न क्षेत्रमा सुधारका प्रयास गरिएको र त्यसको परिणाम आगामी वर्षदेखि देखिन सुरु हुने विश्वास व्यक्त गरे। साथै, हालको सरकारले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेको स्पष्ट पार्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्कले विपन्न तथा आम नागरिकलाई असर नगर्ने दाबी पनि उनले दोहोर्याए।