शिक्षालाई डिजिटल प्रविधि, अनुसन्धान र नवप्रवर्तनसँग जोड्न उपराष्ट्रपति यादवको आग्रह

शिक्षालाई डिजिटल प्रविधि, अनुसन्धान र नवप्रवर्तनसँग जोड्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोडेर समयानुकूल तथा गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन्। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षासँग एकीकृत गर्नुपर्ने बताए। शिक्षा क्षेत्रमा नवप्रवर्तनको कमी रहेको उल्लेख गर्दै उनले डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्नुपर्ने धारणा राखे। शिक्षाले विनम्रता, अनुशासन, सामाजिक उत्तरदायित्व र सद्भावको भावना विकास गर्ने उल्लेख गर्दै उनले राष्ट्र निर्माण, युवा स्वरोजगार र गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने बताए। शिक्षक राष्ट्र निर्माणका अभियन्ता भएको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए। कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले सहज र सुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानलाई निरन्तरता दिँदै कलेजलाई अझ उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपक अर्यालले सम्बन्धनप्राप्त करिब ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेज उत्कृष्ट १० शैक्षिक संस्थाभित्र पर्न सफल भएको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार