कर्णालीको नयाँ झुलुङ्गे पुलले बढायो पर्यटकको आकर्षण

कर्णालीको नयाँ झुलुङ्गे पुलले बढायो पर्यटकको आकर्षण

कैलाली । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथि निर्माण गरिएको झुलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ। केही दिनअघि मात्रै निर्माण सम्पन्न भएर आवागमन खुलेसँगै कर्णाली नदी र आसपासको प्राकृतिक सौन्दर्य अवलोकन गर्न, गर्मी छल्न तथा तस्वीर र श्रव्यदृश्य सामग्री बनाउन आउने आगन्तुकको संख्या बढेको हो। पुल सञ्चालनसँगै टीकापुर र राजापुरबीचको दूरी करिब २४ किलोमिटरबाट १५ किलोमिटरमा छोटिएको छ भने डुङ्गामार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि हटेको छ। स्थानीयका अनुसार पुलले दुई जिल्लाबीचको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धन, स्थानीय व्यापार तथा आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ। ११ असार २०८२ मा सम्झौता भएको यो आयोजना थानी निर्माण सेवाले करिब एक वर्षमै सम्पन्न गरेको हो। करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँ लागतमा बनेको ४८२ मिटर लामो पुल सञ्चालनमा आइसकेको छ भने अब औपचारिक हस्तान्तरणको तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ। स्थानीयवासीले कर्णाली नदीमाथिको यो पुल भविष्यमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार