तेह्रथुम । खेतीपाती नै मुख्य जीविकोपार्जनको आधार रहेको तेह्रथुमका ग्रामीण बस्तीमा रासायनिक मलको अभाव, बढ्दो उत्पादन लागत र माटोको घट्दो उर्वराशक्तिले किसानहरू चिन्तित बन्दै गएका छन्। यही चुनौतीलाई सम्बोधन गर्न लालीगुराँस नगरपालिकाले अर्गानिक कृषि प्रवर्द्धनका लागि वडा नं. ७ मा जैविक तथा कम्पोष्ट मल निर्माण कारखाना स्थापना गरी सञ्चालनमा ल्याएको छ। हालै उद्घाटन गरिएको कारखानाले स्थानीय स्तरमै गुणस्तरीय जैविक मल उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट किसानले सहज रूपमा मल प्राप्त गर्नुका साथै अर्गानिक खेती विस्तारका लागि बलियो आधार तयार हुने अपेक्षा गरिएको छ।
कृषि प्राविधिकहरूका अनुसार रासायनिक मलको निरन्तर प्रयोगले माटोको प्राकृतिक गुणस्तर र उर्वराशक्ति कमजोर बनाउँदै गएको छ। स्थानीय स्रोतसाधनको उपयोग गरेर उत्पादन गरिने जैविक मलले माटोको स्वास्थ्य सुधार्नुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। जैविक मलको प्रयोगबाट माटोमा जैविक तत्वको मात्रा बढ्ने, पानी धारण गर्ने क्षमता सुधारिने र दीर्घकालीन रूपमा कृषि उत्पादन प्रणाली दिगो बन्ने कृषि विज्ञहरूको भनाइ छ।
नगर प्रमुख अर्जुन माबोहाङले दिगो र आत्मनिर्भर कृषि विकासका लागि जैविक मल उत्पादन अपरिहार्य रहेको बताए। उनका अनुसार रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा अबको कृषि नीति स्वस्थ माटो, स्वस्थ उत्पादन र स्वस्थ नागरिक निर्माणतर्फ केन्द्रित हुनुपर्छ। स्थानीय स्रोत र सीपको उपयोग गर्दै उत्पादन वृद्धि गर्ने तथा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको र आगामी दिनमा अर्गानिक उत्पादनलाई बजारसँग जोड्ने तथा किसानलाई थप प्रोत्साहन गर्ने योजना रहेको उनले बताए।
कारखाना निर्माणका लागि नगरपालिकाले संरचना निर्माणमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने डिभिजन वन कार्यालय तेह्रथुमले मेसिन खरिदका लागि ९ लाख रुपैयाँ उपलब्ध गराएको छ। स्थानीय समूहको लागत सहभागितासहित कुल १७ लाख ६२ हजार ५ सय रुपैयाँको लगानीमा कारखाना स्थापना गरिएको हो। यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी तिनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहले लिएको छ, जसले वन, वातावरण र कृषि क्षेत्रबीचको सहकार्यलाई समेत बलियो बनाएको स्थानीयहरूको विश्वास छ।
यस परियोजनाले जैविक मल उत्पादनसँगै गाउँघरमा खेर जाने जैविक पदार्थको सदुपयोग गरी फोहोर व्यवस्थापनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। अभियान सफल भए लालीगुराँस नगरपालिकाले स्थानीय किसानलाई रासायनिक मलको निर्भरताबाट मुक्त गराउँदै अर्गानिक उत्पादनमार्फत नयाँ आर्थिक सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ। यससँगै लालीगुराँस प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, अर्गानिक कृषिको नमुना नगरका रूपमा पनि परिचित हुने अपेक्षा गरिएको छ।