काठमाडौं । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले सरकारसँग सुकुमवासी राखिएको होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घरअगाडि शंकास्पद गाडी पार्किङलगायत विषयमा जवाफ मागिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिमार्फत प्रतिवाद गरेका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले न्युरोडलगायत क्षेत्रमा ‘राज्य संरक्षित व्यक्तिहरूबाट सडक जाम गराइएको’ तथा मिडिया हाउस र गगन थापाको घरअगाडि शंकास्पद गाडी पार्किङ गरिएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए। त्यसको प्रतिवाद गर्दै रास्वपा सांसद टीका संग्रौलाले यस्तो अभिव्यक्तिले प्रमाणबिनै सिंगो राज्यलाई जोडेर राज्यको प्रतिष्ठामा आँच पुर्याउने काम गरेको भन्दै प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ अनुसार नियमापत्ति जनाइन्। सरकारले घटनामा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै उनले राज्यलाई आरोप लगाउने हो भने संसद्मा त्यसको प्रमाण प्रस्तुत गर्नुपर्ने धारणा राखिन्।
यस्तै, नेपाली कांग्रेसका सचेतक निश्कल राईले होल्डिङ सेन्टर डुबान, गणेश नेपालीको आत्मदाह तथा शंकास्पद गाडी पार्किङका घटनाले सरकारको चरित्र उजागर गरेको टिप्पणी गर्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका थिए। त्यसक्रममा उनले प्रधानमन्त्रीलाई ‘श्री ८’ को संज्ञा दिएका थिए। लगत्तै रास्वपा सांसद शिवशंकर यादवले नियमापत्ति गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा यस्तो सम्बोधन संविधान र संसदीय मर्यादाविपरीत रहेको दाबी गरे। उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसँग माग गरेका छन्।