काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाउने तथा अधिकतम करदर घटाउने नयाँ व्यवस्था आजदेखि लागू गरेको छ। आर्थिक ऐन २०८३ अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय हुने व्यक्तिले १ प्रतिशत अर्थात् अधिकतम १० हजार रुपैयाँ मात्रै आयकर तिर्नुपर्नेछ। १० लाखभन्दा बढी तर १५ लाखसम्मको आयमा पहिलो १० लाखमा १० हजार रुपैयाँ र बाँकी आयमा १० प्रतिशत, १५ लाखदेखि २५ लाखसम्मको आयमा पहिलो १५ लाखमा ६० हजार रुपैयाँ र बाँकी आयमा २० प्रतिशत कर लाग्नेछ। त्यस्तै, २५ लाखभन्दा बढी आयमा पहिलो २५ लाखसम्म २ लाख ६० हजार रुपैयाँ कर तिरेपछि बाँकी आयमा २७ प्रतिशत कर लाग्नेछ भने ४० लाख रुपैयाँभन्दा माथिको करयोग्य आयमा थप २ प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरिएको छ। सरकारले करदाताको करभार घटाउने उद्देश्यले आयकरको न्यूनतम सीमा ५ लाखबाट १० लाख रुपैयाँ पुर्याएको र अधिकतम करदर १० प्रतिशत बिन्दुले घटाएको अर्थ मन्त्रालयले जनाएको छ। साथै, निवृत्तिभरण कोष तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको सम्बन्धित आयमा भने यस व्यवस्थाअनुसार कर नलाग्ने प्रावधान राखिएको छ।