भद्रपुर (झापा)– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक औसत २६ जना विदेशी पर्यटक यो नाका हुँदै नेपाल प्रवेश गरेका हुन्। भारतका नागरिकलाई नेपाल प्रवेशका लागि भिसा आवश्यक नपर्ने भएकाले यस तथ्याङ्कमा भारतीय पर्यटक समावेश गरिएको छैन।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८६ देशका नागरिकले काँकरभिट्टा नाका प्रयोग गरेका छन्। तीमध्ये सबैभन्दा बढी चार हजार ९९४ जना (५३ प्रतिशत) भुटानी नागरिक रहेका छन् भने दोस्रो स्थानमा अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) पर्यटक रहेका छन्।
तथ्याङ्कअनुसार पुस र माघ महिनालाई पूर्वी नाकाको मुख्य पर्यटकीय याम मानिएको छ। सबैभन्दा बढी पुस महिनामा एक हजार ८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए। निमित्त प्रमुख राजवंशीका अनुसार पुस र माघमा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासका क्षेत्रमा रहेका आफन्तसँग भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङस्थित हलेसी महादेवको दर्शन तथा तीर्थयात्राका लागि आउने गरेकाले सो अवधिमा पर्यटकको चाप बढ्ने गरेको हो।
अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र काँकरभिट्टा नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सञ्चालनमा ल्याएकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्न सकिने विषयमा अझै पर्याप्त जानकारी पुग्न बाँकी रहेको कार्यालयले जनाएको छ।