काठमाडौं — एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकले सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको छ भन्ने प्रत्याभूति हुनुपर्ने बताएका छन्। बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नागरिकको सुरक्षा सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे। मुलुकमा सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै उनले सुनसरीमा भएका घटनाको कारण पहिचान गर्नुपर्ने धारणा राखे। साथै, सुरक्षा निकायको मनोबल कमजोर भएका कारण यस्ता घटना भइरहेका हुन् वा होइन भन्ने विषयमा पनि अध्ययन गर्नुपर्ने उल्लेख गर्दै भिड व्यवस्थापन प्रभावकारी बनाउन र नागरिकको ज्यान नजाने गरी सुरक्षा व्यवस्था सुदृढ गर्न विशेष ध्यान दिनुपर्ने बताए।