सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको छानबिन गर्न गठित समितिले बुधबार घटनास्थल पुगेर निरीक्षण गरेको छ। दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घटनापछि विरोध प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। विराटनगर आएको समितिले यसअघि घाइतेहरूसँग बयान लिएको थियो भने बुधबार घटनास्थलको निरीक्षण गरी स्थानीयवासीसँग घटनाबारे जानकारी संकलन गरेको छ।