दीपमाला ढकाल पहिलो गैरआवासीय नेपाली मिस नेपाल, तीन ऐतिहासिक कीर्तिमान कायम

दीपमाला ढकाल पहिलो गैरआवासीय नेपाली मिस नेपाल, तीन ऐतिहासिक कीर्तिमान कायम

काठमाडौं । दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी छन्। हङकङमा हुर्किएकी तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा ‘दोस्रो पुस्ता संयोजक’ रहेकी उनले शनिबार सम्पन्न ग्रान्ड फिनालेमा तीन ऐतिहासिक कीर्तिमान कायम गरिन्। उनी मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेर सोही वर्ष मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो प्रतियोगीसमेत बनिन्। साथै, उनले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पस गरी चार सहविधा जित्दै ग्रान्ड फिनालेमा सबैभन्दा धेरै सहविधा जित्ने पहिलो प्रतियोगीको कीर्तिमान पनि बनाइन्।

दीपमालाको मिस नेपालको यात्रा उनकी आमा रोशनीको अधुरो सपनासँग जोडिएको छ। रोशनीले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन् भने छोरी दीपमालाले अहिले उपाधि जितेर त्यो सपना पूरा गरेकी छन्। उनको जितलाई गैरआवासीय नेपाली संघले पनि ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेको छ। अब दीपमालाले आगामी मिस वर्ल्ड प्रतियोगिताको तयारी गर्नेछिन् भने मिस नेपाल इन्टरनेसनल आर्या निशान्त जापानमा हुने मिस इन्टरनेसनल र मिस नेपाल कस्मो कशिश सुब्बा भियतनाममा हुने मिस कस्मो प्रतियोगितामा सहभागी हुनेछन्। साथै, तीनै विजेताले आगामी एक वर्ष आयोजक संस्था द हिडन ट्रेजरको मातहत रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्नेछन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार