गोरखामा गएको पहिरोले पेट्रोल पम्प र एक घरमा क्षति पुर्याएको छ। बिहीबार बिहान करिब ६ बजे गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पको पछाडिबाट खसेको पहिरोले पम्पको डिस्पेन्सर मेसिन तथा त्यहाँ पार्किङ गरिएका पाँच वटा मोटरसाइकल पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने कार्य जारी रहेको छ। यस्तै, बुधबार राति पालुङटार नगरपालिका–१ कोलकोटेमा लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घरमा क्षति पुगेपछि परिवार अहिले पुरानै घरमा बसिरहेको प्रहरीले जनाएको छ। दुवै घटनामा कुनै मानवीय क्षति नभएको र प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।