• २०८३ साउन २२ गते शुक्रवार
  • Preeti To Unicode

अमेरिका–इरान तनाव अन्त्यको संकेत, होर्मुज सम्झौताको चर्चा

अमेरिका–इरान तनाव अन्त्यको संकेत, होर्मुज सम्झौताको चर्चा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव चाँडै अन्त्य हुन सक्ने संकेत दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका–इरान वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै द्वन्द्व धेरै लामो समय नलम्बिने विश्वास व्यक्त गरे। ट्रम्पले इरानले नै वार्ताको पहल गरेको र सम्भावित सम्झौता इरानका लागि सबैभन्दा उपयुक्त विकल्प हुने बताए। साथै, अमेरिकासँग पर्याप्त हतियार रहेको र आवश्यकता अनुसार नयाँ हतियार उत्पादन भइरहेको पनि उनले उल्लेख गरे।

समाचार एजेन्सी एपीका अनुसार ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच होर्मुज स्ट्रेटसम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएको मस्यौदा अन्तिम चरणमा पुगेको बताइएको छ। यद्यपि, इरानको संसद्मा अमेरिका, इजरायल तथा अन्य शत्रु राष्ट्रका जहाजलाई होर्मुज स्ट्रेटमा प्रवेश निषेध गर्ने र नियम उल्लंघन गरेमा सामानको मूल्यको २० प्रतिशत बराबर जरिवाना लगाउने विधेयक पनि पेस गरिएको छ।

सिकागो विश्वविद्यालयका प्राध्यापक रोबर्ट पेपका अनुसार ट्रम्प अहिले इरानको बढ्दो प्रभाव स्वीकार गर्ने वा युद्धलाई थप चर्काउने दुई विकल्पबीच छन्। उनका अनुसार अमेरिकाले हवाई तथा नौसैनिक आक्रमणबाट केही सैन्य सफलता हासिल गरे पनि आफ्नो मुख्य रणनीतिक लक्ष्य पूरा गर्न सकेन र युद्धपछि इरान झन् बलियो बनेको छ। यस तनावको असर विश्व बजारमा पनि देखिएको छ। होर्मुज स्ट्रेट र बाब अल–मन्देब क्षेत्रमा जहाजहरूको आवतजावत उल्लेख्य रूपमा घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८२.४९ अमेरिकी डलर र डब्लुटीआई ७७.२९ अमेरिकी डलर पुगेको छ। विश्वका आठ प्रमुख सिपिङ सङ्गठनहरूले होर्मुज क्षेत्रमा कुनै पनि प्रकारको टोल वा सेवा शुल्क नलगाउन आग्रह गर्दै त्यसले विश्वव्यापी महँगी बढाउन सक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार