रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीय बासिन्दाले नापी भएको करिब ५८ वर्षपछि जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन्। साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएका कुल ३२४ दर्तामध्ये २७१ वटा लालपुर्जा शुक्रबार सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको हो।
दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीयका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ भने अब जग्गाको किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ।
५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न पाएकामा स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। स्थानीयका अनुसार लालपुर्जा वितरणले उनीहरूको लामो समयदेखिको कानुनी अन्योल अन्त्य हुनुका साथै आर्थिक तथा प्रशासनिक गतिविधिमा समेत सहजता आउने विश्वास गरिएको छ।