साउन, काभ्रेपलाञ्चोक। दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका पाँच जना आरोहीको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव भेटिएको हो। स्थानीयवासीले हिमाल क्षेत्रमा पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन तथा पहिचानका लागि शुक्रबार हेलिकोप्टरमार्फत टोली पठाएको थियो।
खराब मौसमका कारण उद्धार कार्यमा केही ढिलाइ भए पनि सोमबार हेलिकोप्टर घटनास्थलसम्म पुगेर तीनवटा शव गोंगर भन्ने स्थानमा ल्याइएको छ। बाँकी दुईवटा शव ल्याउन हेलिकोप्टर पुनः घटनास्थलतर्फ गएको सूचना अधिकारी खड्काले जानकारी दिए। मौसममा सुधार आएमा सोमबार नै पाँचवटै शव गोंगर ल्याइने उनले बताए।
गत वर्ष नेपाली तथा विदेशी नागरिक गरी १५ जना आरोहणका लागि समुद्री सतहदेखि पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ गएका थिए। हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार गरिएको थियो भने सात जना बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुई जनाको शव तत्कालै भेटिए पनि पाँच जनाको शव लामो समयसम्म भेटिएको थिएन।
खोजीमा सहभागी ड्रिम डेस्टिनेसनको टोलीका अनुसार लगातार हिमपात भएपछि त्यसबेला खोजी कार्य स्थगित गरिएको थियो। हिमपहिरोमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुका मेरे कार्कीको शव त्यतिबेलै भेटिएको थियो।
बेपत्ता हुने पाँचै जना विदेशी नागरिक थिए। उनीहरूमा फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका छन्।