ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै राजमार्ग अवरुद्ध

ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै राजमार्ग अवरुद्ध

जनकपुरधाम । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो। बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए।

गत शुक्रबार प्रस्तावित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो। बुधबार संसद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी गराएपछि ढल्केबर क्षेत्रमा विरोध सुरु भएको हो। संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म र २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।

मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गालाई आधार बनाएर संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक रकम विनियोजन गरेको थियो। उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको र लालपुर्जा समेत बनिसकेको मेयर महतोले बताए। निर्माणको शिलान्यासको तयारी भइरहेका बेला ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी आएपछि ढल्केबरमा विरोध सुरु भएको हो। स्थानीयवासीले सरकारले पूर्वनिर्धारित स्थानमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार